काठमाडौं : पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिले कर्जा लिंदा निकै ठूलो राहत पाउने भएका छन् । केन्द्रीय बैंकले अबदेखि पहिलो पटक खरिद तथा निर्माण गर्ने व्यक्तिले धितो मूल्यांकनको ७०% सम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो । घर खरिदमा सकेसम्म धेरै नेपालीको पहुँच विस्तार होस् भन्ने अभिप्रायले केन्द्रीय बैंकले नयाँ नीति अघि सारेको हो । यस व्यवस्थाबाट कर्जा लिएर घर बनाउनेलाई थप राहत मिल्नेछ ।
यसअघि राजधानीमा धितोको ५०% सम्म र उपत्यकाबाहिर धितो मूल्यांकनको ६०% सम्म घर खरिद कर्जा लिन पाइने व्यवस्था थियो । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७५ मा सशोधन गर्दै नयाँ नियम लागू गरेको हो । यो सुविधा पहिलो पटक घर खरिद वा निर्माण गर्नेले मात्र उपयोग गर्न पाउनेछन् । यसमा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म धितो लिन पाइनेछ ।